977-1-4700575, 9851051523 (President)

नेपाल–भारत सीमापार ग्रामीण पर्यटन सहकार्य कार्यक्रम सम्पन्न

नेपाल–भारत सीमापार पर्यटन सहकार्य

काठमाडौं, ६ असार २०८३

ग्रामीण पर्यटन प्रवर्द्धन तथा नेपाल–भारतबीच सीमापार पर्यटन सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले भारतको सिक्किममा आयोजित “नेपाल–भारत सीमापार ग्रामीण पर्यटन सहकार्य कार्यक्रम” तथा अवलोकन भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा VITOF-Nepal का अध्यक्ष हरिशरण थपलिया, प्रथम उपाध्यक्ष मनहरी दाहाल तथा प्रमुख सल्लाहकार डा. आलोक प्रसाईँको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल र भारतबीच ग्रामीण पर्यटन विकासका सम्भावना, चुनौती तथा सहकार्यका विविध विषयमा विस्तृत छलफल गरिएको थियो।

नेपाल–भारत सीमापार पर्यटन सहकार्य

यसै क्रममा सिक्किममा आयोजित अन्तर्राष्ट्रिय ग्रामीण पर्यटन मञ्चमा नेपाल र भारतका पर्यटन सरोकारवालाबीच नेपाल–भारत सीमापार ग्रामीण पर्यटन सहकार्यसम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको थियो। उक्त समझदारीले दुवै देशका ग्रामीण पर्यटन गन्तव्यहरूबीच पर्यटन आदान–प्रदान, अनुभव तथा ज्ञान साझेदारी, क्षमता अभिवृद्धि र संयुक्त पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गर्न महत्वपूर्ण आधार तयार गरेको छ।

यो कार्यक्रम VITOF-Nepal को अन्तर्राष्ट्रिय स्तरमा सम्पन्न भएको पहिलो औपचारिक कार्यक्रम तथा सहकार्य पहल का रूपमा ऐतिहासिक महत्व बोकेको छ। संस्थाको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्दै नेपालका ग्रामीण पर्यटन गन्तव्यहरूलाई विश्व पर्यटन बजारसँग जोड्ने दिशामा यो कार्यक्रम महत्वपूर्ण कोशेढुंगाको रूपमा स्थापित भएको VITOF-Nepal ले जनाएको छ।

सहकार्यले नेपाल र भारतका ग्रामीण समुदायमा आधारित पर्यटन गतिविधिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै, सीमावर्ती क्षेत्रका पर्यटन गन्तव्यहरूको विकास, स्थानीय रोजगारी सिर्जना तथा सांस्कृतिक आदान–प्रदानलाई थप सुदृढ बनाउन समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

VITOF-Nepal ले आगामी दिनमा नेपाल–भारतबीच ग्रामीण पर्यटन सहकार्यलाई अझ प्रभावकारी बनाउँदै दिगो पर्यटन विकास, अन्तर्राष्ट्रिय साझेदारी विस्तार तथा ग्रामीण पर्यटन प्रवर्द्धनका लागि विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपाल–भारत सीमापार ग्रामीण पर्यटन सहकार्य