पूर्वी नेपालको पर्यटन सम्भावनाको अध्ययन तथा ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित ३ दिने अध्ययन तथा अवलोकन भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम Village Tourism Promotion Forum Nepal (VITOF – Nepal) को आयोजनामा तथा Nepal Tourism Board को सहयोगमा सम्पन्न भएको हो। काठमाडौंबाट करिब २३ सदस्यीय टोली सहभागी रहेको उक्त भ्रमणमा VITOF-Nepal का अध्यक्ष हरिशरण थपलिया, प्रथम उपाध्यक्ष मनहरी दाहाल, प्रमुख सल्लाहकार डा. आलोक प्रसाईँ लगायत पर्यटन विज्ञ, होमस्टे विज्ञ, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको सक्रिय उपस्थिति रहेको थियो। उक्त भ्रमण असार २ गतेदेखि ५ गतेसम्म सञ्चालन गरिएको थियो। टोलीले पूर्वी नेपालका प्रमुख पर्यटन क्षेत्रहरूको अध्ययन तथा अवलोकन गरेको थियो, जसमा बेलबारी (धिमाल सामुदायिक होमस्टे तथा जीवित संग्रहालय), धरान, भेडेटार, बराहक्षेत्र, इटहरी र बर्दिबास समावेश छन्।
मोरङको बेलबारी–१० स्थित माटी गाउँमा धिमाल समुदायको मौलिक संस्कृति, भाषा, परम्परा र जीवनशैली संरक्षण गर्दै “जीवित सङ्ग्रहालय” अवधारणाको स्थलगत अध्ययन गरिएको थियो।
स्थानीय होमस्टे मोडेल, समुदाय सहभागिता तथा सांस्कृतिक पर्यटन विकासका सम्भावनाबारे विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ।

भ्रमणका क्रममा स्थानीय सरकार, पर्यटन व्यवसायी तथा समुदायसँग अन्तरक्रिया गरिएको थियो। पर्यटन पूर्वाधार, गन्तव्य व्यवस्थापन, प्रचार–प्रसार तथा ग्रामीण पर्यटन विकासका विषयमा सुझावहरू संकलन गरिएको थियो।
प्रमुख सल्लाहकार डा. आलोक प्रसाईँले धिमाल समुदायको सांस्कृतिक संरक्षण र पर्यटन जोड्ने प्रयास “उदाहरणीय मोडेल” बन्न सक्ने बताएका छन्।
अध्ययन भ्रमणले पूर्वी नेपालमा ग्रामीण, धार्मिक, सांस्कृतिक तथा एकीकृत पर्यटन सर्किट विकासको उच्च सम्भावना रहेको निष्कर्ष निकालेको छ।
विशेषगरी बेलबारीलाई सांस्कृतिक होमस्टे गन्तव्यका रूपमा विकास गर्न सकिने, धरान–भेडेटार–बराहक्षेत्रलाई पर्यटन सर्किट बनाउन सकिने तथा स्थानीय युवालाई पर्यटन उद्यमशीलतामा जोड्नुपर्ने आवश्यकता औँल्याइएको छ। ३ दिने कार्यक्रम सम्पन्न गरी टोली ५ असारमा काठमाडौं फर्किएको हो।
Village Tourism Promotion Forum Nepal ले आगामी दिनमा ग्रामीण पर्यटन, होमस्टे विकास तथा अन्तर्राष्ट्रिय पर्यटन सहकार्यलाई निरन्तर अघि बढाउने जनाएको छ।

काठमाडौं, ६असार२०८३