
पर्यटन बजार
असोज १२ ,काठमाडौँ। गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ ) नेपालले यस वर्षको मोडल भिलेज तथा गाउँ गन्तव्य अन्तर्गत ३ ओटा होमस्टे लाई घुम्ने पर्नेको सुचीमा राखेको छ।
४३ औँ पर्यटन दिवस अवसरमा पर्यटन बोर्डमा भएको कार्यक्रममा भिटोफ नेपालका अध्यक्ष गोपाल थापाले नयाँ ३ गन्तव्य छानेको हो।
आदिवासी मध्यवर्ती सामुदायिक होमस्टे ,मगर किरात सामुदायिक होमस्टे र ओडार सामुदायिक होमस्टे लाई गाउँ गन्तव्यको रूपमा घोषणा गरेका हुन्।
ग्रामीण क्षेत्रमा स्थापना भई सफल सञ्चालन गरी आन्तरिक एवम् बाह्य पर्यटन भित्राउन महत्त्वपूर्ण भूमिका खेलेका होमस्टे लाई थप प्रोत्साहन गर्न भिटोफले हरेक वर्ष ३ गन्तव्य तोक्ने गरेको छ।
१. आदिवासी मध्ये बर्ती सामुदायिक होमस्टे
थारु समुदायको बाहुल्यता रहेको यस होमस्टेमा मुख्य आकर्षण थारु नाच , जमरा नाच , थारुसंग्रहालय , चेपाङ सङ्ग्रहालय , चेपाङ्गबस्ति , मुसहर गाउँ भ्रमण , थारु गाउँ भ्रमण, जङ्गलमा जिप सफारी , धार्मिक ठाउँहरूको भ्रमण रहेको छ। यस गाउँको २२ घरमा अहिले पनि होमस्टे सञ्चालन रहेको छ। केही होमस्टे सुविधा सम्पन्न रहेका छन् भने केही होमस्टे निर्माणाधीन अवस्थामा छन् । प्राकृतिक ,सांस्कृतिक र धार्मिक हिसाबले अति नै सम्पन्न रहेको आदिवासी मध्यवर्ती सामुदायिक होमस्टेलाई सरकार तथा व्यवसायीले प्रोत्साहन गर्ने हो भने यो होमस्टे पर्यटकका लागि मुख्य आकर्षण बन्ने सम्भावना रहेको छ ।
२. मगर किरात सामुदायिक होमस्टे
मगर-किरात सामुदायिक होमस्टे- लिम्चुङबुङ गाउँपालिका,उदयपुर जिल्ला लिम्चुङबुङ गाउँपालिकामा रहेको छ। यस होमस्टेमा रहेको मुख्य आकर्षण भनेको एभरेस्ट भ्यु प्वाइन्टबाट ८ हजार मिटरभन्दा माथिका सगरमाथा,ल्होत्से,लोत्सेसार,मकालु, कञ्चनजङ्घा, र चोयु हिमालहरू देख्न सकिन्छ।
साथै त्यही डाँडाबाट सूर्योदय र सूर्यास्तसमेतको अवलोकन गर्न सकिन्छ। यस ठाउँमा खस्रु र लालीगुराँसहरू समेत रहेका छन् ।
लिम्चुङबुङ गाउँपालिका तराई नजिक रहेको कारण गर्मियाममा गर्मी छल्ने उचित स्थान हुने गरेको । यसै गरी पूर्वको पशुपति भनेर चिनिने त्रिधाम हलेसीको दर्शन समेत यस गाउँपालिकाबाट नजिक रहेको छ । यस अर्थमा लिम्चुङबुङ गाउँपालिका प्राकृतिक र सांस्कृतिक हिसाबले सम्पन्न रहेको छ।
३. ओडार सामुदायिक होमस्टे।
ओडार सामुदायिक होमस्टे मनाङको नासो गाउँपालिका वडा नम्बर ४ मा पर्दछ। यस गाउँमा रहेका २९ घरमध्ये १५ घरमा अहिले पनि होमस्टे सञ्चालनमा रहेका छन्। यस होमस्टेबाट ४० मिनेट को दुरीमा नमरुह्यो भ्यु प्वाइन्ट रहेको छ भने करिब ५ घण्टा पैदल दूरीमा थुम भ्यु प्वाइन्ट को छ। अझै यो होमस्टेको विशेषता भनेको यस सामुदायिक होमस्टेबाट अन्नपूर्ण र लम्जुङ्गका हिमालय शृङ्खलाहरू प्रस्ट देखिन्छन् ।यस सामुदायिक होमस्टेलाई सरकार र पर्यटनकर्मीले प्रचारप्रसार गरेर सहयोग गर्ने हो भने यो एउटा नमुना सामुदायिक होमस्टे बन्ने सम्भावना रहेको छ।
यहाँका जनताको मुख्य पेसा भनेको कृषि हो र यहाँको मुख्य उत्पादन मकै , गहुँ , फापर , आलु , जौलगायतका कृषि उत्पादन रहेका छन् । र यहाँका जनता कृषिका साथ साथै पशुपालनमा पनि संलग्न रहेका छन्। पशुपालनमा मुख्य त याक , चौँरी ,भेँडा र बाख्रा रहेका छन् ।