977-1-4700575, 9841178197 (President)

भिटोफ नेपालले छनौट गरे यसपालि घुम्नैपर्ने तीन गाउँ, यी हुन् गाउँहरू

चन्द्र तामाङ / हिमाल दर्पण

काठमाडौं । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले तीन वटा गाउँलाई यस वर्ष घुम्नै पर्ने गाउँ गन्तव्यको रूपमा छनौट गरेको छ । ग्रामीण पर्यटनको प्रवर्द्धनमा नेतृत्वदायी भूमिका खेल्दै आएको भिटोफ नेपालले प्रत्येक वर्ष मोडल भिलेज अथवा घुम्नै पर्ने गाउँ गन्तव्य छनौट गर्ने गरिएको छ ।

४३औँ विश्व पर्यटन दिवसको अवसरमा आज पर्यटन बोर्डमा भएको कार्यक्रममा भिटोफ नेपालका अध्यक्ष गोपाल थापाले तीन ओटा होमस्टेलाई यस वर्षको गाउँ गन्तव्यको रूपमा छनौट गरेका हुन् ।

आदिवासी मध्यवर्ती सामुदायिक होमस्टे ,मगर किरात सामुदायिक होमस्टे र ओडार सामुदायिक होमस्टे लाई गाउँ गन्तव्यको रूपमा घोषणा गरेका हुन् ।

यी हुन् गाउँहरू:

१. आदिवासी मध्यवर्ती सामुदायिक होमस्टे

थारु समुदायको बाहुल्यता रहेको यस होमस्टेमा मुख्य आकर्षण थारु नाच , जमरा नाच , थारु सङ्ग्रहालय , चेपाङ  सङ्ग्रहालय  , चेपाङ बस्ती , मुसहर गाउँ भ्रमण , थारु गाउँ भ्रमण, जङ्गलमा जिप सफारी , धार्मिक ठाउँहरूको भ्रमण  लगायत छन् ।  यस गाउँको २२ घरमा अहिले पनि होमस्टे  सञ्चालन रहेको छ ।  केही होमस्टे सुविधा सम्पन्न रहेका छन् भने केही होमस्टे निर्माणाधीन अवस्थामा छन् ।  प्राकृतिक ,सांस्कृतिक र धार्मिक   हिसाबले अति नै सम्पन्न रहेको आदिवासी मध्यवर्ती सामुदायिक होमस्टेलाई सरकार तथा व्यवसायीले प्रोत्साहन गर्ने हो भने यो होमस्टे पर्यटकका लागि मुख्य आकर्षण बन्ने सम्भावना रहेको छ ।

२.  मगर किरात सामुदायिक होमस्टे

मगर-किरात सामुदायिक होमस्टे, उदयपुर  जिल्लाको लिम्चुङबुङ गाउँपालिकामा रहेको छ । यस होमस्टेबाट एभरेस्ट भ्यु प्वाइन्टबाट ८ हजार मिटरभन्दा माथिका सगरमाथा, ल्होत्से, लोत्सेसार, मकालु, कञ्चनजङ्घा, र चोयु हिमालहरू देख्न सकिन्छ ।

साथै त्यही डाँडाबाट सूर्योदय  र सूर्यास्तसमेतको अवलोकन गर्न सकिन्छ । यस ठाउँमा खस्रु र लालीगुराँसहरू समेत रहेका छन् ।

लिम्चुङबुङ गाउँपालिका तराई नजिक रहेको कारण गर्मी याममा गर्मी छल्ने उचित स्थान  हुने गरेको छ । यसै गरी पूर्वको पशुपति भनेर चिनिने त्रिधाम हलेसीको दर्शन समेत यस गाउँपालिकाबाट नजिक रहेको छ । यस अर्थमा लिम्चुङबुङ गाउँपालिका प्राकृतिक र सांस्कृतिक हिसाबले सम्पन्न रहेको छ ।

३. ओडार सामुदायिक होमस्टे

ओडार सामुदायिक होमस्टे मनाङको नासो गाउँपालिका वडा नम्बर ४  मा पर्दछ ।  यस गाउँमा रहेका २९ घरमध्ये १५ घरमा अहिले पनि होमस्टे सञ्चालनमा रहेका छन् ।  यस होमस्टेबाट ४० मिनेट को दुरीमा नमरुह्यो भ्यु प्वाइन्ट  रहेको छ भने करिब ५ घण्टा पैदल दूरीमा थुम भ्यु प्वाइन्ट  रहेको छ । अझै यो होमस्टेको विशेषता भनेको यस सामुदायिक होमस्टेबाट अन्नपूर्ण र  लम्जुङ्गका  हिमालय शृङ्खलाहरू प्रस्ट देखिन्छन् । यस सामुदायिक होमस्टेलाई सरकार र पर्यटनकर्मीले प्रचारप्रसार गरेर सहयोग गर्ने हो भने यो एउटा नमुना सामुदायिक होमस्टे बन्ने सम्भावना रहेको छ।

यहाँका जनताको मुख्य पेसा भनेको कृषि हो र यहाँको मुख्य उत्पादन मकै , गहुँ , फापर , आलु , जौलगायतका कृषि उत्पादन रहेका छन् ।  र यहाँका जनता कृषिका साथ साथै पशुपालनमा पनि संलग्न रहेका छन् ।  पशुपालनमा मुख्य त याक , चौँरी ,भेँडा र बाख्रा रहेका छन् ।